दफा २७
राजस्व दाखिला र राजस्वको लेखा
: (१) प्रचलित कानून बमोजिम नेपाल सरकारलाई प्राप्त हुने राजस्व तथा सरकारी रकम कार्यालयमा प्राप्त भएपछि सोही दिन र सोही दिन सम्भव नभए सोको भोलिपल्ट जिम्मेवार व्यक्तिले तोकिए बमोजिमको ढाँचामा राजस्वको लेखा राखी बैङ्क दाखिला गर्नु पर्नेछ।
(२) यस ऐन बमोजिम सरकारी कारोबार गर्ने स्वीकृति प्राप्त बैङ्कमा जम्मा हुन आएको राजस्व सोही दिन सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ।
(३) काबु बाहिरको परिस्थिति परी उपदफा (१) वा (२) बमोजिम राजस्व दाखिला हुन नसकेमा सोको भोलीपल्ट बैङ्क वा सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ। स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “काब्रु बाहिरको परिस्थिति” भन्नाले भूकम्प, बाढी, पहिरो जस्ता विपद्‌, महामारी, कुनै हिंसात्मक गतिविधि, हुलदङ्गा, बन्द हड्ताल, कर्फ्यू वा त्यस्तै अन्य विशेष परिस्थिति सम्झनु पर्छ।
(४) उपदफा (३) मा उल्लिखित अवस्थामा बाहेक सरकारी कारोबार गर्न स्वीकृति प्राप्त कुनै बैङ्कले सञ्चित कोषमा राजस्व दाखिला गर्दा तीन दिनभन्दा बढी अवधि ढिलो गरेमा त्यस्तो बैङ्कलाई महालेखा नियन्त्रक कार्यालयले जम्मा गर्न बाँकी रकमको दश प्रतिशतका दरले हुन आउने रकम जरिबाना गरी सो जरिबाना समेत राजस्व दाखिला गर्न लगाउन वा त्यस्तो बैङ्कको इजाजतपत्र रद्द गर्नेसम्मको कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
(५) राजस्वको लगत तथा लेखा राखे, हिसाब भिडान गर्ने, वित्तीय विवरण तयार गर्ने, लेखापरीक्षण गराउने उत्तरदायित्व कार्यालय प्रमुखको हुनेछ।
(६) राजस्वको लेखा राखे जिम्मेवार निकाय र राजस्व कारोबार गर्ने बैङ्कबीचको हिसाब मिलान सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।